
धन्यवाद पुबुदु दसानायके !!!
नेपाल २०१९ को विश्वकप छनोटबाट धेरै टाढा छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो चरणको खेल अगाडि पुबुदु दसानायकेले नेपालको प्रशिक्षकका रूपमा आफ्नो अन्तिम खेलबारे भनेका थिए, ‘नेपाललाई विजयी दिलाई राम्रो स्थानमा राखेर छाड्न चाहन्छु ।’
पीएनजीसँगको हारपछि नेपाललाई आगामी दिनको यात्रा अझ कठिन बनेको छ । च्याम्पियनसिपको यात्रा २०१७ सम्म चलिरहनेछ । त्यसमा एउटा टिमले १४ खेल खेल्नेछ । ८ राष्ट्र सहभागी च्याम्पियनसिपबाट शीर्ष चार टिम विश्वकप छनोटमा पुग्नेछन् । नेपालले पहिलो चार खेल हारिसकेको छ । यसले नेपालको सोझै छनोट चरणमा पुग्ने सम्भावनालाई कमजोर बनाइसकेको छ ।
१० राष्ट्र सहभागी विश्वकप छनोटबाट यसपटक २ राष्ट्र मात्र छानिने हुनाले नेपालका लागि विश्वकप यथार्थमा एउटा सपनामात्र हुन सक्छ । चार वर्ष अगाडि पनि नेपाली क्रिकेटको स्थिति यस्तै थियो, जब श्रीलंकाका पूर्वविकेटकिपर दसानायके नेपालको प्रशिक्षक बन्न आएका थिए । विश्व क्रिकेट लिगमा डिभिजन–५ र ४ मै संघर्ष गरिरहेको नेपालका लागि विश्वकप एउटा सपनामात्र थियो । डिभिजन–५ र ४ मा अमेरिका र तान्जानिया नेपालका ठूला प्रतिद्वन्द्वी थिए ।
क्यानडालाई २०११ को विश्वकपमा डोर्याइसकेकाले दसानायके स्वयंका लागि यो कुनै नौलो थिएन । उनले नेपालको विश्वकप सम्भावनाका कुरा गर्दा धेरैले उनले ‘दिवा सपना’ भनेर गिज्याएका पनि थिए । दसानायके आएको २ वर्षपछि नै नेपाल आईसीसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको थियो । अर्को वर्ष क्रिकेटको सबैभन्दा ठूलो मेलामा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर विश्व क्रिकेटमा सनसनी मचाइसकेको थियो । दसानायकेको जोसिलो नेतृत्वमा नेपालले डिभिजन–४, ३ जित्दै डिभिजन–२ मा क्यानडा, नामिबिया र नेदरल्यान्ड्सलाई पराजित गरिसकेको थियो ।
च्याम्पियनसिपमा अहिलेको जस्तै कठिन मोडमा नेपालले त्यो यात्रा तय गरेको थियो । तर अब दसानायकेले नेपाललाई त्यो स्थितिबाट उठाउने छैनन् । उनले कर्मथलो क्यानडा फर्किने निर्णय गरिसकेका छन् । यूएई जानु अगाडि नै उनले यो निर्णय गरिसकेका थिए । अब केही दिनमै उनी क्यानडा फर्किनेछन् । त्यसपछि नेपाली क्रिकेटको संघर्ष फेरि ४ वर्ष अगाडिकै स्थितिमा फर्किन सक्ने आशंका धेरैको छ ।
दसानायकेका लागि यो चार वर्ष कस्तो रह्यो त ? ‘समय एकदमै चाँडो बित्यो, अबको समय मेरा लागि भावुक हुनेछ, तर खेल यसरी नै अगाडि नै बढ्नेछ,’ दसानायकेले यूएईबाट फर्किएपछि शुक्रबार भने, ‘मसँग नेपाली क्रिकेटका धेरै स्मरणीय क्षण छन् । त्यसमा केही अविस्मरणीय क्षण पनि छन् । यस्तो टिम मैले विश्वमा कहीं गएर पनि पाउने छैन । त्यसैले नेपाली क्रिकेटसँग आबद्ध हुन पाएको र उनीहरूलाई प्रशिक्षण दिन पाएकामा निकै खुसी छु । तर एक दिन मैले जानु नै थियो र अब त्यो समय आएको छ ।’
आफू नभए पनि नेपाली क्रिकेट अझ माथि गएमा थप खुसी हुने बताए । ‘नेपालले ठूला प्रतियोगितामा गएर अझ धेरै खेल जितेमा म यहाँ नभए पनि धेरै खुसी हुनेछु,’ उनले भने । दसानायकेको फेरि क्यानडाको प्रशिक्षक सम्भावना पनि देखिएको छ र त्यसबारे केही चर्चा पनि चलेका छन् । तर उनले आधिकारिक रूपमा अझसम्म कुनै कार्य नभएको जनाए ।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेयता नै नेपाल क्रिकेट एक्सपोजरको अभावले ग्रसित थियो । दसानायके पर्फमेन्स प्रशिक्षक हुन् । उनले नेपाली खेलाडीको प्रदर्शनलाई फक्राउन पहिलो प्रयास गरे । खेलाडीलाई मानसिक रूपमा बलियो बनाउनु, राम्रो प्रदर्शनको भोक जगाउने, नयाँ खेलाडीलाई मौका दिनुका साथै अनपेक्षित प्रयोग गर्नु, खेलाडीलाई बढीभन्दा बढी एक्सपोजर दिलाउनु, घरेलु क्रिकेटका विकेटलाई ब्याटिङमा जोड दिनु जस्ता कार्यले नेपाली क्रिकेटमा कायापलट आएको थियो ।
यस वर्ष नेपाली क्रिकेटका लागि खासै उपलब्धिपूर्ण रहेन । जनवरीमा नामिबियामा विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले उत्कृष्ट नतिजा निकाल्यो । तर अन्तिम खेलमा केन्यासँग पराजित हुँदा अन्तरमहादेशीय चार दिवसीय कपमा छनोट हुन सकेन । त्यही प्रतियोगितामा चौथो भएका कारण नेपाल अहिले च्याम्पियनसिपमा खेलिरहेको छ । आयरल्यान्डमा विश्वकप छनोटमा एक खेलमात्र जितेर लगभग पुछारमा रह्यो ।
‘पीएनजीसँग दुवै खेल हारे पनि नेपाल एउटा स्तरमा छ, खेलाडीलाई राम्रो घरेलु क्रिकेट माहोल अभ्यास चाहिएको छ, खेलाडीले आफ्नो हिसाबले राम्रो खेलिरहेका छन्,’ च्याम्पियनसिपमा नेपालले खेल्न पाएको मौकाबारे दसानायकेले भने, ‘उपलब्धि धेरै ठूलो छ, तर नेपाली क्रिकेट अड्किरहेको छ । त्यो स्थितिमा कसले अगाडि बढाउने यसको जवाफ न मसँग छ, न खेलाडीसँगै छ । हामीले यो स्तरलाई मापन गर्ने संरचना खोजेका थियौं, जुन अहिलेसम्म पाएका छैनौं । त्यही पनि खेलाडीले यो स्थितिसम्म ल्याएका छन् ।’
दसानायकेको यो दोस्रो कार्यकाल हो । नेपाललाई विश्व ट्वान्टी–२० मा उतारेर आएको अर्को महिना उनलाई नेपाल क्रिकेट संघले खर्च अभावको बहानामा बिदाइ गरेको थियो । तर सरकारले हस्तक्षेप गरी केही महिनापछि दसानायकेलाई फेरि नेपाल ल्याएको थियो ।
प्रशिक्षकले आफू छाडिसकेको अवस्थामा खेलाडीको प्रदर्शनमा कस्तो असर पर्यो भन्ने विषयमा कप्तान पारस खड्काले भने, ‘मलाई लाग्छ प्रशिक्षक र कप्तानको विषयमा हामीले विगत केही समयदेखि अनावश्यक बहस गरिरहेका छौं ।’
दसानायकेले नेपाल छाड्नुको कारण प्रस्ट्याए । ‘मैले छोड्नुका कारण दुईवटा छन् । पहिलो म आफ्नो परिवारलाई समय दिन चाहन्छु,’ उनी फेरि नेपाल फर्किने सम्भावनाका बारेमा भने, ‘दोस्रो यो खेललाई अगाडि बढाउनका लागि मलाई कुनै हतियार उपलब्ध हुँदैन भने म यहाँ बसिरहनुको कुनै औचित्य छैन । मलाई त्यो माहोल मिल्न सक्छ भने नेपाल सधैं मेरो मनमा हुनेछ ।’
नेपालको विश्वकप सपनालाई यथार्थमा पुर्याउने तथा डिभिजन–४ देखि डिभिजन–२ सम्मको यात्रामा डोर्याउने दसानायकेबारे सोसल मिडियामा विभिन्न सन्दर्भ आएका छन् । त्यसमा नेपालको विश्वकप सपनालाई साकार पारी माथिल्लोस्तरमा पुर्याइदिएकामा ‘थ्याङ्क्यु पुबुदु’ भन्ने धेरै छन् ।
Via : http://bit.ly/1O8kEYY

0 comments:
Post a Comment