मंसिर २६, २०७२- नेपाली फुटबललाई एकपछि अर्को ‘स्क्ल्यान्डल’ ले छोप्नु अगाडिसम्म सागर थापा ‘खुसी’ बाट गुज्रिरहेका थिए । आफ्नो खेल जीवनको अन्तिम केही वर्षका योजना बुनिरहेका थिए उनी । आफ्नो व्यक्तिगत जीवन व्यवस्थित पार्ने पनि उनका केही योजना थिए, पत्नी विद्यासँग मिलेर सोचेका । त्यसै सेरोफेरोमा उनले एक शनिबार विहान आफ्नो गैह्रीधारास्थित ‘फ्लायट’मा चिया खान निम्तो दिएका थिए ।
सागरको क्लब थ्री स्टार राष्ट्रिय लिग जित्ने संघारमा थियो । नजिकै साफ च्याम्पियनसिप पनि थियो । उनी यसलाई आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बनाउन चाहन्थे । त्यसैले उनी त्यसमा ज्यान फालेर खेल्ने दाबी गर्दै थिए । उनी नेपाली फुटबलमा इतिहास बनाउने संघारमा पनि थिए । साफ च्याम्पिनसिप खेल्नु पथ्र्यो, नेपालका लागि सबैभन्दा बढी खेल्ने खेलाडी सागर नै हुन सक्थे । सबैभन्दा बढी कप्तानी गर्ने खेलाडी उनकै नाममा आउन सक्थ्यो ।
नेपाली फुटबललाई लिएर पनि सागरका धेरै गुनासा थिए । सायद उनको भन्दा बढी गुनासो, विद्याको थियो । विद्या पटक्कै खुसी थिइनन्, नेपाली फुटबललाई लिएर । उनको निचोड थियो, त्यत्रो वर्ष श्रीमानले लागतार फुटबल खेले, अन्त्यमा खेल्न छाड्दा पाउने केही थिएन । हुर्किएका दुई बच्चा थिए, तर घर हेर्ने जिम्मा उनकै थियो ।
भूकम्प नआएको भए, घर बनाउने योजना थियो । आखिरमा एन्फाले पुरस्कारमा दिने भनेको ‘फ्लायट्’ को कुनै टंगो थिएन ।
अझ भनौं, उनीहरूले त्यो पाउने आश पनि मारिसकेका थिए । ‘नेपालमा फुटबल खेलेर के–के न हुन्छ भनेर अरुले सोचेका होलान, तर यो दुनिया बाहिरबाट हेर्दा रंगिन मात्र छ, भित्र केही छैन् । मैले बुझेको नेपाली फुटबल यही हो,’ विद्याले भनेकी थिइन । सागरले त्यसको प्रतिक्रियामा खालि हाँसेर टारे । बरु एउटा तथ्य के माने भने नेपालमा फुटबल खेल्ने हो भने श्रीमती आर्थिक रूपमा बलियो भए, धेरै राम्रो । नत्र गाह्रो छ ।
त्यसै बेला सागरले सानो छँदाको एउटा घटना सुनाए, आफू हुर्केको विराटनगरतिरको । सानोमा पनि साथी भाइसँग उनी फुटबल खेल्थे । यस्तै फुटबल खेल्नेक्रममा के बहस चल्यो भने, तुरुन्तै प्रधानमन्त्री भेट्न पाए के माग्ने थियौ त ? कसले के भने कसले के, सागरका एक साथीले भनेछन्, ‘मलाई त नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलाइदिनु भन्थे, अझ कप्तान बनाइदिनु भन्थें ।’ त्यति बेला आफूले के भनें भन्ने सागरलाई अहिले हेक्का छैन । तर यति याद छ, त्यतिबेला उनले मनमनै भनेका थिए, ‘म एक दिन राम्रो फुटबल खेलाडी बन्छुं । कति राम्रो भने नेपाली राष्ट्रिय टिमबाटै खेल्छु । नेपालकै कप्तान पनि बन्छु ।’ उनले ती सबै इच्छालाई वास्तविकतामा परिणत पनि गरे । नेपाली फुटबललाई उनले धेरै दिए, नेपाली फुटबलले पनि उनलाई धेरै दियो ।
तर, दसैंको साता दिन अगाडि सागरमाथि एकप्रकारले वज्रपात नै पर्यो । उनलाई म्याच फिक्सिङको आरोपमा समातियो । समातिनेमा उनका अरु चार साथी पनि थिए । त्यसपछि के भयो, त्यो सबै समाचार बनेको छ । हालै मात्र एसियाली फुटबल महासंघ (एएफसी) ले उनीमाथि आजीवन प्रतिबन्ध लगायो । यो समाचार उनीमाथि अझ ठूलो वज्रपात थियो । यसपल्ट भने उनी नराम्रोसँग गले ।
उनले आफू नजिकका साथीभाइलाई सुनाएका थिए, ‘यो त ठूलै सजाय भयो, मरे बराबरकै । तर मलाई विश्वास गर्नु, मैले नराम्रो केही गरेको छैन ।’ जुन दिन एएफसीले उनलाई आजीवन प्रतिबन्ध लगाएको थियो, त्यो दिन सागरले आफूलाई रोक्न सकेका थिएनन् । उनी त्यस दिन खुबै रोए, त्यो रोएको आवाज उनका धेरै साथी भाइले सुने ।
उनी सन् २००३ को साफ च्याम्पिनसिप अगाडि पनि रोएका थिए । त्यति बेला प्रतियोगिता बंगलादेशको ढाकामा हुने तय थियो र प्रशिक्षक थिए, दक्षिण कोरियाली यु कि ह्योङ । सागरको खेल उनलाई खुबै मन परेको थियो । त्यसैले सागरले ढाकामा खेल्ने तय थियो । तर टिम ढाका उड्न अगाडि सागरलाई जन्डिसले छोयो । टिमको बिदाइको दिन सागर एन्फा कम्प्लेक्सको होस्टेलमै थिए । खेलाडी एयरपोर्टतर्फ जान के बसमा बसे, त्यसलाई टाढाबाट हेरिरहेका सागरले आफूलाई रोक्नै सकेनन् । त्यस बेला उनी खुबै रोएका थिए । उनी भर्खरका केटा थिए, किशोर अवस्था चढ्दै गरेका ।
दुई वर्ष अगाडि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा रोकिएको थियो । नेपाललाई अफगानिस्तानले एक गोलले हराएको थियो । दशरथ रंगशालामा खेल सकेपछि नेपाली खेलाडीले त्यो हारको पीडा नै सहन सकेनन् । धेरै खेलाडी मैदानमै लामो समय ढले ।
धेरै समय यसरी नै बिताएपछि बल्लतल्ल टिम ड्रेसिङ रुममा छिरेको थियो । त्यहाँको माहौल पनि बिजोग थियो । एक कुनामा गोलरक्षक किरण लिम्बू थिए, उदास मुख छोपेर पल्टिरहेका । आखिरमा उनले नै गोल खाएका थिए । यस्तै स्थिति रोहित चन्दको पनि थियो । एकपल्ट होइन, दुईपल्ट पेनाल्टीमा चुक्ने, अरु कोही होइन, उनी नै थिए ।
अर्को कुनामा विमल घर्तिमगरले आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । त्यो दिन ड्ेरसिङ रुमको अवस्था कस्तो थियो भने सायद परिवारमा कोही निकै माया गर्ने गुमाए जस्तो । सबै खेलाडी, प्रशिक्षकबाट घेरिएर सागर बीचमा बसे र केही शब्द बोल्न खोजे । तर अहँ केही शब्द निस्केन । उनलाई एक्कासी रुन आयो । उनले आफूलाई सम्हाल्न सकेनन् । उनी डाँको छाडेर रोए । उनी यसरी रोए कि, पूरा कोठा नै रुन थाल्यो । अर्को एक खेलाडी पनि रुनेबित्तिकै सबै एकपछि अर्को गरी रुन थाले । यो स्थिति रोकिन, एक घन्टाभन्दा बढी समय लागेको थियो ।
अहिले फेरि एकपल्ट सागर रोएका छन् । तर, यो रुवाइभित्र गर्वले सुनाउने कुनै कथा छैन । धेरैका लागि उनी नेपाली फुटबलका खलनायक भइसकेका छन् । सागरका पुराना दिनका योगदानलाई लिएर ‘ओहो’ भन्नेहरू पनि अब उनको सामु आउन पनि सायद तयार छैनन् ।
तिहारअघि जमानत पाएदेखि सागरले अधिकांश समय आफ्नो घरमै बिताएका छन् । खासै बाहिर गएका छैनन् । सागर अहिले परिवारमै रमाउने खोज्ने भलाद्मी बनेका छन् । पछिल्लो समय उनमा आएको यो ठूलो परिवर्तन हो ।
सायद पछिल्लो दस वर्षमा उनी यस्ता थिएनन् । उनी बरालिएका थिए । उनी बढी मोजमस्ती गर्नेखालका बनेका थिए । उनले बिताउने रातको चर्चा मिडियामा त छापिन्न थियो, तर त्यसबारे धेरैलाई थाहा थियो । त्यो अनुशासित जीवन थिएन, सागरले रोजेको । उनले त्यसमध्ये धेरै रात दरबारमार्गमा पनि बिताए, जहाँको जीवनशैली कति महँगो छ, सबैलाई थाहा छ ।
उनी मात्र होइन, पछिल्ला समय खास–खास केही फुटबल खेलाडीको जीवनशैली यस्तै बनेको थियो । सबैको मुखमा गुनासो हुन्थ्यो, क्लबले समयमा तलब दिंदैन । त्यति मात्र होइन, क्लबले तलब नै दिन खोज्दैन । उल्टो पचाउँछ । सागरसँग यस्ता धेरै गुनासा थिए । तर यो पनि सबैलाई थाहा थियो, केही खेलाडीको जीवन शैली फिल्मी पाराको थियो । त्यो कस्तो भने त्यस्ता पात्रको हातमा महँगा रक्सीले भरिएका गिलास हुन्थे । वरीपरी मनारोञ्जन लिने र दिने पनि धेरै हुन्थ्यो । लगाइ र खुवाइ कोही भन्दा कम हुँदैन थियो । चिल्ला गाडीबाट आउने जाने भइरहन्थ्यो । सागरले केही समय यस्तै जीवन बिताए ।
अहिले उनी फेरि त्यही समय र परिस्थितिमा फर्केका छन्, जहाँबाट उनले सुरुआत लिएका थिए । सागर अहिले शून्यमा झरेका छन् । उनमा आकुलता ब्याकुलता पर्याप्त छ । जुन प्रतियोगितालाई लिएर सागर उत्साहित थिए, अब केही दिनमै त्यो सुरु हुनेछ । भारतको त्रिवन्दपुरममा यसपल्टको साफ च्याम्पियनसिपको साइत जुरेको छ । त्यसै प्रतियोगितामा ठूलो भूमिका खेल्ने मानिएका सागर भने सायद यसका लाइभ अथवा हाइलाइट्सहरू घरमै बसेर हेरिरहेको हुनेछन् ।
एएफसीले उनीमाथि आजीवन प्रतिबन्ध लगाइसकेको छ । म्याच फिक्सिङलाई लिएर कुनै दिन अदालतले निर्णय पनि दिनेछ । यो उनीहरूको काम हो । यो सारा प्रकरणले धेरै उत्तर दिनेभन्दा धेरै प्रश्न उब्जाएको छ । के यो सागर र उनका केही साथीबाट मात्र सम्भव भएको हो त ? कि यसमा अरु पनि संलग्न छन् ? केहीलाई दोषी देखाएर अरु उम्कन खोजेका त छैनन् ?
नेपाली फुटबलले अहिलेसम्म पाएका निकै उम्दा खेलाडीमा एक हुन्, सागर । अबका उनका दिन पुरानो समय जस्ता हुने छैनन्, यसमा शंका छैन । अहिले पनि बजारमा धेरै उडन्ते गफ सुन्न पाइन्छ, म्याच फिक्सिङलाई लिएर । कसले के गरे र कस्तो कस्तोसम्म गरे भनेर ? त्यहाँसम्म पनि पुग्ने हो कि ? एउटा तथ्य के मानौं भने सागरले नेपाली फुटबलले लगाएको गुन चटक्कै पनि बिर्सेका छैनन् । उनले भनेका छन्, ‘कम्तीमा हामीलाई सम्झेर नेपाली फुटबललाई माया गर्न नछाड्नु ।’
लेखक Twitter : @HimeshRatna
प्रकाशित: मंसिर २६, २०७२
यहाँ बाट साभार गरिएको :http://bit.ly/1RJE5sl
हामीसगँ टि्वटरमा: @3starclubfanz
फेसबुक : All Three Star Club Fanz
0 comments:
Post a Comment