अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापामाथि प्रतिबन्ध लागेसँगै तत्कालका लागि कसले नेपाली फुटबलको बागडोर सम्हाल्छ भन्ने विषय चर्चामा छ । गणेश थापा अध्यक्ष हुँदा खेरी नै उनलाई विस्थापित गरेर एन्फाको नयाँ अध्यक्ष बन्ने धेरैले सपना नबुनेका होइनन् तर सबै उनी अगाडि नतमस्तक थिए । भ्रष्टाचार मुद्दामा मुछिएपछि उनका प्रतिद्वन्द्वीहरुलाई झिनो आशा पलाएको थियो । उनीहरुले त्यसलगत्तै नयाँ कार्यकालमा आफूलाई अध्यक्ष बनाउन पहल थालेका थिए । अहिले फिफाले नै थापालाई कारवाही गरेपछि एन्फाको नेतृव्मा को आउने भन्ने नयाँ होड शुरु भएको छ । तल केही अनुहारहरुको चर्चा छ जसले नेपाली फुटबललाई नेतृत्व गर्ने आकांक्षा पालेका छन् । उनीहरुले बेलाबेला थापालाई नेतृत्वमा चुनौति दिने गरेका थिए ।
१.गीता राणा :
गीता राणा सधैँ गणेश थापाको विकल्पमा चर्चामा रहने नाम हो । गणेश थापालाई सबैभन्दा पहिले चुनौति दिने व्यक्ति पनि गीता राणा नै हुन् । शिक्षण पेशामा लामो योगदान गरेकी राणाले यसअघि नै एन्फाको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । राणा एन्फा अध्यक्ष छँदा उनको कार्यसमितिमा अहिले एन्फाका उपाध्यक्ष रहेका कर्माछिरिंग शेर्पा र दिवंगत ललितकृष्ण श्रेष्ठ पनि थिए । राणाले पछिल्लो पटक २०६५ सालमा भएको एन्फा निर्वाचनमा अध्यक्षका लागि उमेद्वारी दिने कोसिस गरेकी थिइन् । तर कार्यसमिति भित्रैका १० प्रस्तावक र १० समर्थक बटुलेपछि मात्रै उमेद्वारी दिन पाइने बाध्यकारी व्यवस्थाका कारण उनको उमेद्वारी नै दर्ता भएन । पछिल्लो समय उनले थापालाई नै अघोषित समर्थन गर्दै आइरहेकी थिइन् ।
२.टासी घलेः
गीता राणा एन्फा अध्यक्ष हुदाँ उनको कार्यकालमा भएको चुनावका अर्का प्रत्यासी थिए, टासी घले । मनाङ्ग मस्र्याङ्गदी क्लबका पूर्व अध्यक्ष घले नेपाली फुटबलमा चर्चामा रहेको नाम हो । व्यवसायी घले गल्फमासमेत सक्रिय छन् । उनले एन्फामा महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । थापाको बाहिरिगमनपछि उनले पुनः एन्फाको नेतृत्व दाबी गर्न सक्नेछन् ।
३.कर्माछिरिङ्ग शेर्पा
कर्माछिरिङ्ग शेर्पा हिमालयन शेर्पा क्लबका अध्यक्ष हुन् । पछिल्लो समय गणेश थापाको ‘अपोजिसन’ का रुपमा उनी चिनिएका छन् । एन्फा शुद्धिकरणका नाममा उनले थापाविरुद्ध भ्रस्टाचार विरोधी गतिविधि बढाएका थिए । एन्फाको वर्तमान कार्यसमितिमा उनी निर्वाचित उपाध्यक्ष हुन् । अर्का उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भइसकेको र गणेश थापा प्रतिबन्धमा परेको अवस्थामा अहिले कार्यसमितिका तीन निर्वाचित उपाध्यक्ष कर्माछिरिंग शेर्पा, विजयनारायण मानन्धर र किशोर राई एउटै समूहमा छन् । यस समूहमा सदस्य पंकज नेम्वाङ्ग पनि छन् । फुटबलमा भ्रस्टाचार विरोधी गतिविधी गर्दै आएका कारण उनीहरु एन्फा नेतृत्वका लागि सबैभन्दा अघि छन् ।
४.नरेन्द्र श्रेष्ठ
एनआरटीका पूर्व खेलाडी नरेन्द्र श्रेष्ठलाई प्रतिबन्धमा पर्नुअघि एन्फा अध्यक्ष गणेश थापाले कार्यकारी अध्यक्ष चयन गरेका थिए । उनी कुनै समय एनआरटीका अध्यक्ष समेत थिए । तर क्लब राम्ररी चलाउन नसकेको भन्दै उनलाई एनआरटीले अध्यक्ष पदबाट अविश्वासको मत ल्याएर हटाइएको थियो । अहिले दीपकहर्ष बज्राचार्य एनआरटीका अध्यक्ष छन् । मिलनसार स्वभावका नरेन्द्रसँग फुटबल व्यवस्थापनको लामो अनुभव छ । तर आफ्नै क्लब हाँक्न नसक्नेले देशको फुटबल कसरी हाँक्न सक्छ भन्ने प्रश्न उनीमाथि तेर्सिन भने सक्छ । गणेश थापाको प्रतिबन्धपछि थापा पक्षीय एन्फा कार्यसमिति सदस्यहरु नरेन्द्र श्रेष्ठको पक्षमा रहने पक्का छ । उनी एन्फाका निर्वाचित उपाध्यक्ष भने होइनन्, ललितकृष्ण श्रेष्ठको निधनपछि गणेश थापाले रिक्त पदमा नरेन्द्रलाई नियुक्त गरेका हुन् ।
के खेलाडी उदाउलान् ?
एन्फामा गणेश थापाको बर्हिगमनपछि हाईप्रोफाइल खेलाडीको नेतृत्व आउनुपर्छ भन्ने आवाज उत्तिकै छ । खेलाडीहरु मध्येबाट नेतृत्वमा आए डुब्न लागेको नेपाली फुटबललाई उकास्न सक्छन् भन्ने एक थरीको मत रहेको छ । एन्फाका पूर्व उपाध्यक्ष एवंम् पूर्व चर्चित खेलाडी मणिविक्रम शाह अहिले कर्माछिरिंग शेर्पाहरुसँग आन्दोलनमा छन् । उनले यसअघि अध्यक्ष बन्ने इच्छा व्यक्त गरेका थिए । राजु शाक्य, उपेन्द्रमानसिंह, हरि खड्का लगायतका देशकै स्टार खेलाडीहरु भने गणेश थापा निकट मानिन्छन् । राजु शाक्यले सार्वजनिक रुपमै गणेश थापाको पक्षमा रहेको र उनमाथि फिफाले लगाएको आरोप गलत साबित हुने बताइसकेका छन् ।(रातोपाटीबाट साभार गरीएको)
via-ratopati.com
अध्यक्षपदका लागि र्चचामा अाएका केही नामहरु :
१. अनिल शाहा
२. बिजय नारायण मानन्धर
३.मणि शाह
४. अतिस श्रेष्ठ
Mention Your Views in Below Comment Box .
0 comments:
Post a Comment